केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिँदैछ : शंकर पोख्रेल


काठमाडौं, २४ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ऋण नै लिनुहुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस भएको टिप्पणी गरेका छन् । पोख्रेलले ऋण नै लिन हुँदैन भन्ने चिन्तन विकासविरोधी कुरा भएको टिप्पणी गरेका छन् । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिएको उल्लेख गर्दै उनले नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुकमा पर्ने पनि तथ्यांक पनि पेश गरे ।

पोख्रेलेल फेशबुकमा लेखेका छन्–

राज्य र ऋणको कुरा
नेपालमा केही वर्ष देखि सरकारी ऋणको विषयमा बहस सुरु भएको छ । नेपाललाई ऋणको पासोमा डुवाएको आरोप लाग्ने गरेको छ । आय र व्ययका विचमा सन्तुलन क़ायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचन सबैतिर हुन्छ । तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो । ऋण नै लिनु हुदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफुलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो ।

अमेरीकामा कुल गार्हस्थ उत्पादनको १२५ प्रतिसत माथिको सरकारी ऋण भएको मुलुकोमा पर्दछ । जापानमा सरकारी ऋण कुल गार्हस्थ उत्पादन भन्दा २३६ प्रतिसत भन्दा वढि छ ।

जबकी नेपालमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिसतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुव्यो । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ । तर नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुक पर्दछ ।

तर नेपालको भन्दा कयौ गुणा वढि सरकारी ऋण भएका मुलुकहरुमा नेपालमा जस्तो सरकार ऋणमा डुव्यो भनेर हल्ला गरेको सुनिदैन ।तिव्र विकास र ठुला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिएर श्रोत जुटाउनु स्वभाविक नै मानिन्छ । तर त्यस्ता आयोजनाहरु मुलुकको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालको भने हुनुपर्दछ ।