काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले विपद् प्रभावित क्षेत्रको व्यवस्थापनमा सरकारको उपस्थिति फितलो भएको गुनासो पोखेका छन् । कांग्रेस काभ्रेका सभापतिसमेत रहेका सांसद लामाले सरकार विपद् लगत्तै उपस्थिति देखाएर आश्वासन दिएपनि त्यहीअनुसारको काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।
बाग्मती प्रदेशसभाको हिजो (बुधबार) बसेको बैठकमा विशेष समय माग गर्दै सांसद लामाले यस्तो गुनासो पोखेका हुन् । उनले आम नागरिकको समस्या सुन्ने अवस्था बनेन भने राज्य प्रति वितृष्ण पैदा हुने बताएका छन् । नागरिकको समस्यामा सरकारमा रहेका मन्त्री र नेतृत्वकर्ताहरुले गम्भीरताका साथ अघि बढाउनुपर्ने उनले बताए । विपद् प्रभावित क्षेत्रको व्यवस्थापन र पुनः निर्माणका लागि बागमती प्रदेश सरकारले गम्भीरताका साथ काम गर्नुपर्ने उनको भनाई छ । उनले आगामी बजेटमा काभ्रेका विपद् प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्न समेत माग गरे ।
विपद्का कारण काभ्रेका प्रभावित स्थानीय तहहरुमा सडक पूर्वाधार, खानेपानी, सिँचाइ लगायतका क्षेत्रमा क्षति पुगेको लामाको भनाई छ । उनले भने,‘विपद्का कारण बीपी राजमार्गको ९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । सो राजमार्ग वर्षा याममा चल्न सक्ने अवस्था छैन ।’ उनले भने, ‘प्रदेश सरकारको उक्त क्षेत्रको विषयमा पनि ध्यान दिनुपर्छ । त्यससँगै नमोबुद्ध र रोशि गाउँपालिका जोड्ने थान्सिङ बेसीमा रोशी खोलामा मोटरेबल निर्माणका लागि सरकारले तत्काल डिपीआर लगायतको काम अघि बढाउन आग्रह गर्दछु ।’




प्रतिक्रिया