प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्नः देशको विकास ६ दिन ढिलो हुने भयो भनेर अध्यादेश ल्याउनु भएको हो ?


काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले स्वार्थ समूहलाई पोस्नकै लागि चोर बाटोबाट अध्यादेश ल्याएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । पूर्व प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दलको सरकार प्रतिगमनतिर अग्रसर भइरहेको उनले बताए ।

सरकारले अध्यादेश ल्याएको ६ दिनपछि संसद् बैठक आह्वान गरिएको स्मरण गराउँदै उनले ‘छ दिन विकास ढिला हुने भयो भनेर अध्यादेश ल्याइएको हो ?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे । विगत ३५ वर्षमा कांग्रेसबाट १२ पटक र एमालेबाट ७ पटक प्रधानमन्त्री बनिसकेको उनले स्मरण गराए । उनले ३५ वर्षसम्म हतार नभएको कांग्रेस–एमालेलाई ६ दिन भने निकै हतार भएजस्तो देखिएको बताए ।

‘माघ ८ गते संसद्को बैठक आह्वान गरिएको छ । तर, जम्मा छ दिनअघि दर्जनौं ऐन संशोधन गर्नेगरी ५÷५ वटा अध्यादेश ल्याइएको छ । पछिल्लो ३५ वर्षमा नेपाली कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । नेकपा (एमाले) ले ७ पटक । ३५ वर्ष शासन गरेपछि आज आएर देशको विकास छ दिन ढिलो हुने भयो भनेर ल्याउनु भएको हो अध्यादेश ? ३५ वर्षसम्म त तपाईँहरुले त्यो आवश्यकता महशुस गरेको देखिँदैन,’– उनले भने ।

प्रचण्डले सरकारको नियत सही नरहेको दाबी गरे । दुई तिहाइको अहम प्रदर्शन गर्ने, बलियो सरकारको अहँकार प्रदर्शन गर्नेहरुले शासन चाहीँ अध्यादेशबाट गर्न खोजेको भन्दै आपत्ति जनाए । ‘रातारात अध्यादेशको चोर बाटोले भन्छ, तपाईँहरुको नियत चाहीँ सही छैन । अरु बेला संसद्मा दुई तिहाइको अहम प्रदर्शन गर्नुहुन्छ । बलियो सरकारको अहँकार सुन्नुपरिरहेकै छ । अनि शासन चाहीँ अध्यादेशबाट चलाउने जमर्को गर्ने ? यो सार्वभौम संसद्को अवहेलना नभए के हो त ?’ उनले प्रश्न गरे ।