महेन्द्रनगर (धनुषा), २४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी चोरीनिकासी भइरहेको सूचनाका आधारमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा छापा मारेका छन् ।
नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेसको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको भन्दै प्रदेश सरकारका तर्फबाट त्यसविरुद्ध छापा गरिएको उनले बताए ।
राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको, अन्य ठाउँमा अनाधिकृत रूपले नदीजन्य पदार्थको दोहन भइरहेको खबर प्राप्त भएपछि मुख्यमन्त्री सिंहसहित जिल्लाका सुरक्षा अधिकारीको टोलीले बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा छापामार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बरुण सिंहले मुख्यमन्त्री सिंहको अगुवाइमा छचापा मार्ने क्रममा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ ट्याक्टर, दुईवटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
मुख्यमन्त्री सिंहसहितको टोली पूर्वपश्चिम राजमार्गको उत्तरतर्फका वन क्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका स्काइभेटर, ट्याक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्ति अँध्यारोको लाभ उठाइ ठाउँठाउँमा बनाइएका बाटा हुँदै फरार भएका प्रहरी प्रवक्ता सिंहले जानकारी दिए । उनका अनुसार उत्खनन स्थलबाट दक्षिणतर्फ आउँदै गरेका ट्याक्टर, बकेट र चालक नियन्त्रणमा लिइएको हो ।
मुख्यमन्त्री सिंहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन तथा जथाभाबी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको, विपद् निम्तिँदै गएकाले त्यसविरुद्ध अनुगमन बढाइएको बताए । उनले राजमार्गभन्दा उत्तर र दक्षिणतर्फ कमला खोलासहित अन्य नदीबाट अनाधिकृत रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरिएको उल्लेख गरे ।
राष्ट्रिय वन क्षेत्र र सामुदायिक वन क्षेत्रस्थित खोला र बोलपत्र नलागेका खोलाबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म ढुङ्गा, गिट्टी र बालुवा उत्खनन हुने गरेको जानकारी प्राप्त भएको मुख्यमन्त्री सिंहले बताए ।
डिभिजन वन कार्यालय धनुषासँग गस्तीमा परिचालन गर्ने सशस्त्र र अन्य जनशक्ति अभाव, प्रहरी तथा सुरक्षाकर्मी अभावलगायत कारणले प्रभावकारी रूपमा नियन्त्रणात्मक अभियान सञ्चालन नहुँदा स्काभेटर, बकेटलगायत उपकरण प्रयोग गरी नदीजन्य पदार्थको अवैध ओसारपसार हुने गरेको सूचना प्राप्त भएको उनले उल्लेख गरे ।
मुख्यमन्त्रीको अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं उपरीक्षक भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनाधिकृत दोहन गरेर गलत तरिकाले आयआर्जन गर्ने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडाइका साथ प्रहरी परिचालन हुने बताए । उनले यस विषयमा आफू सदस्य रहेको जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनाधिकृत दोहन रोक्न थप कदम चाल्ने उल्लेख गरे ।
यसअघि डिभिजन वन कार्यालयले गणेशमान नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योगसहित स्थानीय क्रसर उद्योगीबाट रातको समयमा जथाभाबी नदीजन्य पदार्थ दोहन गरिरहेको जनगुनासो आएपछि कानुनअनुसार मात्र नदीजन्य पदार्थ उत्खनन व्यवस्थापन गर्नरगराउन जिल्ला समन्वय समितिलाई आग्रह गरेको थियो । रासस/file photo




प्रतिक्रिया