ओलीलाई प्रचण्डको सुझावः ‘देउवाको कान तगडा छ, समयमै प्रधानमन्त्री छोड्छु भनेकोभन्यै गर्नुपर्दैन’


काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलबीच एकअर्कामा विश्वास नरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केपी शर्मा ओलीले पछिल्लो समय शेरबहादुर देउवालाई समयमै प्रधानमन्त्री पद छाडिदिन्छु भनेकोभन्यै गरेको कुराले सत्तारुढ दलबीच विश्वास नरहेको पुष्टि गर्ने बताए ।

प्रधानमन्त्री ओलीलाई प्रचण्डले देउवाको कान र आँखा तगडा रहेको बताए । ‘शेरबहादुरजीलाई प्रधानमन्त्री छोड्छु, भनेको भन्दा ७ दिन अगाडि छोड्छु’ भनेर भनेकोभन्यै नगर्न उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

‘तपाईँहरुसँग विश्वास छ भने म दिनदिनै यति महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री छोड्छु, भनेको भन्दा ७ दिन अगाडि छोड्छु भनेर प्रधानमन्त्रीजीले पटक–पटक भन्नुपर्छ त ? तपाईँहरुमा आपसमा साँच्चै विश्वास भएको भए हरेक ठाउँमा म शेरबहादुरजीलाई समयमै छोड्छु भनिरहनुपर्ने ? के शेरबहादुरजीले सुन्नु हुन्न र ? शेरबहादुरजीको कान र आँखा तगडा छन् । धेरै पटक भन्न पर्दैन, म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु,’– उनले भने ।

प्रचण्डले वर्तमान सरकार प्राकृतिक र पारदर्शी नरहेको दाबी गरे । उनले वर्तमान सकरार आफ्नै बोझले ढल्ने कुरा पुनः दोहार्याए । ‘मैले यत्ति भन्ने गरेको छु– यो सरकार प्राकृतिक छैन, संवैधानिक पनि छैन, पारदर्शी पनि छैन । यो आफ्नै बोझले ढल्छ मात्रै भनेको हो । ढाल्छु कहिले पनि भनेको छैन । हाम्रो कारणले तपाईँहरुले एकअर्काको कुर्सी मिलाइराख्नु पर्दैन । एकै ठाउँमा राखेर हामी एक छौं भन्ने देखाइराख्नु पर्दैन । प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताको कुर्सी मिलाइराख्नु पर्दैन,’– प्रचण्डले भने । File Photo/RN