वाईसीएल नेपालले मनायो ४३औं स्थापना दिवस


काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो संगठनको ४३ औं स्थापना दिवस मनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरि सयौं युवाहरूको उपस्थितिका बिच स्थापना दिवस मनाएको हो ।

कार्यक्रम वाइसीएल नेपालका महासचिव गणेश शाहीको संचालनमा भएको थियो भने अध्यक्ष सुबोधराज शेर्पालीको अध्यक्षता, र पार्टी केन्द्रीय उपाध्यक्ष पम्फा भुसालको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा उपमहासचिव शक्ति बहादुर बस्नेत, स्थायी कमिटी सदस्य तथा पूर्व अध्यक्ष गणेशमान पुन, वाइसीएल नेपाल पूर्व अध्यक्ष तथा फ्याक्सन इन्चार्ज राम प्रसाद सापकोटा ‘दीपशिखा’, केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय संयोजक सुमन देवकोटा, अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटा, यातायात मजदुर संघ अध्यक्ष दिपक केसीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पम्फा भुसालले वाईसीएल नेपालका सबै किसिमका सकारात्मक परिवर्तनहरुमा सधैं अग्रमोर्चामा रहि लडेको भन्दै खुलेर प्रसंसा गरेका थिए । आन्दोलन र पार्टीमा आएको उतारचढाबमा वाइसीएल संगठनमा कहिले सक्रिय त कहिले निष्क्रियजस्तो देखिए पनि भूमिकामा सधैं सक्रिय रहेको बताए ।

स्थापना दिवसलाई संबोधन गर्दै उपमहासचिव शक्तिबहादुर बस्नेतले अबको युवा संगठन आम युवाहरूलाई प्रतिनिधित्व गर्ने विशाल जनसंगठनको रूपमा काम गर्नुपर्ने बताए ।

वाइसीएल फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले वाइसीएल पार्टीको आवश्यकताको स्मार्ट संगठन रहेको बताए । ‘वाइसीएल केही निष्क्रिय जस्तो देखेपनि पार्टीको एउटा आदेशमा पुन खडा हुनेछ,’– उनले भने ।

अध्यक्ष सुबोधराज शेर्पालीले वाइसीएल नेपाल विचारसहितको स्मार्ट ब्रेन भएको युवाहरूको समूह भएकाले वाइसीएल समयको आवश्यकता अनुसार आफ्नो भुमिका बदल्ने तागत राख्ने बताए । ‘हामी पार्टी हेडक्वाटरको निर्देशन अनुसार पुरानो तागतलाई जगाउदै सवै युवाहरूलाई एकीकृत गरि नयाँ योजना सहित आउनेछौ, त्यसका लागि सबै क्रान्तिकारी युवाहरू तयार हुनुहोला,’– उनले भने ।

वाईसीएल नेपालले आफ्नो संस्थापक अध्यक्षसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड २०३८ माघ २४ गते युवक संगठनको अध्यक्षमा निर्वाचित भएको मितिलाई स्थापन दिवस मनाउने निर्णयसहित आज देशभर विभिन्न कार्यक्रम गरि स्थापन दिवस मनाइएको हो ।