काठमाडौं, २५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले अध्यादेश संसद्मा पेश गर्न सरकार डराएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार डराएर अध्यादेश पेश गर्ने कार्यसूची हटाएपछि आफूहरुले अध्यादेशबारे निर्णय नगरेको बताएका हुन् । जसपा नेपालका महासचिव राउतले सरकार यतिधेरै डराउनुपर्ने आवश्यक नरहेको बताए । ‘कार्यसूचीबाट नहटाएको भए हाम्रो पार्टीले निर्णय लिन्थ्यो होला । किन सरकारले कार्यसूचीबाट हटायो ? मलाई थाहा भएन । तर, सरकार त्यति डराउनुपर्दैन थियो,’– उनले भने ।
मुलुक, राष्ट्र र जनताको लागि राम्रा कुराहरुलाई जसपा नेपालले जहिले पनि स्वागत गर्ने उनले बताए । सरकारले ल्याएका अन्य अध्यादेशमा आफूहरुको कुनै विमति नरहेपनि भूमिसम्बन्धी अध्यादेशमा भने आफूहरुको सिजर्भेसन रहेको उनले बताए । ‘अहिले आएर नै राष्ट्रिय सभामा हाम्रो मतको आवश्यकता परेको हो । हिजो हामीलाई कसले सोध्थ्यो र ? अहिले झण्डै दुई तिहाइको सरकार छ । जहिले पनि हामी त मुलुक, जनता र राष्ट्रको लागि उभिन्छौं,’– उनले भने ।
हिजो अध्यादेशहरु निर्णर्याथ संसद्मा पेश गर्ने कार्यसूची रहेको थियो । तर, राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक रहेको अवस्थामा कुरा नमिल्दा सरकारले कार्यसूचीबाट अध्यादेश निर्णयार्थ पेश गर्ने सूची हटाएको थियो ।
नेता राउतले अध्यादेश पारित गराउनका लागि आफ्नो पार्टीले सरकारसँग कुनै पनि प्रकारको शर्त नराखेको उनको दाबी छ । पार्टी विभाजनको सन्दर्भमा अदालतमा मुद्दा रहेको बताउँदै उनले यस विषयमा धेरै नबोल्ने बताए । अदालतमाथि आफूलाई विश्वास रहेको बताउँदै उनले त्यो बेलाको सरकारले आफूहरुसँग बेइमानी भने गरेको बताए ।




प्रतिक्रिया