दुवै सदनबाट अध्यादेश पारित गरेर देखाउन सरकारलाई माओवादी नेता पौडेलको चुनौति (भिडिओसहित)


काठमाडौं, २५ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले आफूहरु अध्यादेश असफल बनाउने प्रक्रियामा रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्को अपमान गरेर अध्यादेश ल्याइएको बताए । नेता पौडेलले अध्यादेशमा उल्लेख भएको विषय भन्दापनि प्रक्रियाको बारेमा आफूहरुको आपत्ति रहेको बताए । उनले दुवै सदनबाट अध्यादेश पास गरेर देखाउन सरकारलाई चुनौति दिए ।

‘हामीले खारेजीको सूचना दिइसकेका छौं । म आफैंले पनि खारेजीको सूचना दर्ता गराएको छु । नियमित प्रक्रियाद्वारा सदनभित्र प्रस्तुत गरिएका कानुन फिर्ता नलिइकन अध्यादेश पेश गर्ने कुरा झन गैर संवैधानिक हो । हामी अध्यादेश पास गर्नेतिर भन्दा पनि आफ्ना कुरा राख्छौं । दुईतिहाइको भनिएको सरकारले दुवै सदनबाट पास गरेर गएदेखि सरकारको कुरा हो । तर, हामीले असहमतिको कुरा, खारेजीको कुरा, अस्वीकृतिको कुरा दर्ता गरेको हुनाले हाम्रो तर्फबाट हामी अगाडि बढ्छौं,’– उनले भने ।

साथै, फरक प्रसंगमा नेता पौडेलले हिजो संसद्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तथ्यमा आधारित भएर सरकारलाई खबरदारी गरेको बताए । संसद्मा प्रचण्डले सम्बोधन गर्दा कुनै आग्रहपूर्वाग्रह नराखेको उनको दाबी छ । अहिले राज्य प्रतिशोधमा उत्रिएको नेता पौडेलको दाबी छ ।