जसपा नेपालले बार्गेनिङ गरिरहेको छ, सरकारमा ल्याएर अध्यादेश पारित गराउँछौंः मन्त्री दाहाल (भिडिओसहित)


काठमाडौं, २५ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अध्यादेशलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले बार्गेनिङ गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जसपा नेपालले बार्गेनिङ गरेपनि समेटेर अध्यादेश पारित गरिने बताए ।

‘जनता समाजवादी पार्टी नेपालले चाहिँ अलिकति बार्गेनिङ गरिरहेको देख्छु म । उहाँहरुलाई पनि समेटेर हामी अध्यादेश पारित गर्छौं,’– उनले भने, ‘उहाँहरुले पनि खोई किन निहुँ खोज्नु भएको हो ? थाहा छैन । तर जेहोस् अहिले उहाँहरुसँग कुरा भइरहेको छ । सकारात्मक छ, हाम्रो नेताहरुले कुरा गरिराख्नु भएको छ । अध्यादेश पारित हुन्छ । कानुन बनाउने सन्दर्भमा सधैंभरी निहुँ खोज्ने कुरा हुँदैन । उहाँहरुले त्यसो गर्न हुँदैन भन्ने मलाई विश्वास छ ।’

अध्यादेश देशको विकासकै लागि ल्याइएको र उद्योगी व्यवसायीहरुले यसलाई भव्य रुपमा स्वागत गरिरहेको उनले बताए । मन्त्री पौडेलले उपेन्द्र यादवलाई पनि आफूहरुले सरकारमा आउन आग्रह गरेको बताए । मधेश प्रदेशको मुख्यमन्त्री पनि जसपा नेपाललाई दिनसकिने उनले बताए । संघीय सरकारमा भने उपेन्द्रलाई कुनै मन्त्रालयको जिम्मा दिने भन्ने टुङ्गो लाग्न बाँकी रहेको उनको भनाइ छ । ‘उपेन्द्र यादवलाई पनि हामीले सरकारमा आउनुस् भनेका छौं । अहिले मन्त्रालयको कुरा केही भएको छैन । पहिले पनि सरकारमा सामेल हुनुस् भनेको हो । मधेश हामीलाई हुनुपर्छ भन्नुभयो । अहिले कुुरा भइरहेको छ । मधेश प्रदेशको मुख्यमन्त्रीको बारेमा पनि कुरा भइरहेको छ,’– उनले भने ।