प्रचण्डले सदनमा उठाउनुभएको कुराको कुनै तुक छैनः एमाले नेता बस्नेत


काठमाडौं, २५ माघ । नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा उठाएको कुराको कुनै तुक नरहेको बताएका छन् । प्रचण्डले हिजो प्रतिनिधि सभालाई सम्बोधन गर्दै सरकारका विभिन्न कमिकमजारीहरु औंल्याएका थिए । प्रचण्डले बेतुकका कुरा उठाएको नेता बस्नेतको भनाइ छ । नेता बस्नेतले कुनै दिन आफूले बोलेको कुरामा प्रचण्डले सदनको रोष्टममैे उभिएर माफी माग्ने दाबी गरे ।

‘हिजो प्रचण्ड कमरेडले सदनमा उठाउनु भएको कुरा चाहिँ कुनै तुक छैन । हाम्रो अर्थमन्त्रीज्यूले त्यसपछि बोल्दा के भन्नु भएको छ भने– उहाँले उठाउनु भएको बेतुकका कुरा यही रोष्टममा आएर माफी माग्नुहुन्छ भन्नुभएको छ । मलाई लाग्छ प्रचण्ड कमरेडले कुनै दिन गएर मैले गल्ती गरेँ भन्नुहोला भन्ने लाग्छ,’– उनले भने ।

नेता बस्नेतले आफूहरुसँग प्रतिनिधि सभामा दुई तिहाइ बहुमत रहेको र राष्ट्रिय सभामा भने प्रचण्ड नेतृत्वको तत्कालीन ५ दलीय गठबन्धनले तीन वर्षमा कब्जा गरेको टिप्पणी गरे । प्रचण्ड नेतृत्वको तत्कालीन गठबन्धनले कब्जा गरेकै कारण अहिले राष्ट्रिय सभामा एमाले कमजोर हुन पुगेको उनले बताए । अध्यादेश पास गर्ने कुरामा प्रतिनिधि सभा र राष्ट्रिय सभाले एकैचोटी पास गरोस् भन्ने कांग्रेस–एमालेको चाहना रहेको उनले सुनाए ।

उपेन्द्र यादवलगायतका दलका नेताहरुसँग मिलेर सल्लाहमै अध्यादेशको विषय टुङ्गाउने आफूहरुले चाहेको नेता बस्नेतको भनाइ छ । यद्यपि उपेन्द्रले मधेश प्रदेशको मुख्यमन्त्री चाहिन्छ भन्ने ढंगले छलफलको एजेण्डा अगाडि बढाएको आफूले थाहा पाएको पनि उनले सुनाए । मुलुकको हितको निमित्त आएका कानुनहरुलाई पास गर्ने सन्दर्भमा यो पद चाहिन्छ, त्यो पद चाहिन्छ भन्नुलाई राम्रो मान्न नसकिने उनले बताए ।

नेता बस्नेतले अध्यादेश पास गराउने सन्दर्भमा जसपा नेपालको सहयोग रहनेमा उनले विश्वास व्यक्त गरे । तत्कालीन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पार्टी विभान भएको कुराले उपेन्द्र प्रतिपक्षी मोर्चामा जान नचाहेको उनले सुनाए ।

‘उपेन्द्रजीले साथ दिनुहुन्छ । प्रचण्डजीले उपेन्द्रजीको पार्टी ृफोरेर आफ्नो सरकारर टिकाउनको लागि रविजीलाई गृहमन्त्री दिएर नागरिकता, पासपोर्टलगातका असंख्य मुद्दाहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत फिर्ता लिने जुन काम गरे, त्यो कुरामा उपेन्द्र यादवजी असन्तुष्ट छन् । प्रचण्डजीले आह्वान गरेको विपक्षी मोर्चामा उपेन्द्रजी जानुहुन्छ भन्ने मलाई लाग्दैन । सरकारलाई सहयोग गर्ने कुरामा उपेन्द्र यादवको भूमिका रहन्छ भन्ने मलाई लाग्छ,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal