काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सर्लाही बरहथवाका सत्येत्द्र राम र नेहा रौनियारमाथि राज्य संयन्त्रले अत्याचार गरेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अन्तरजातीय विवाह गरेकै कारण नेहा र सत्येन्द्रलाई पक्रिन प्रहरी दिल्ली पुगेको र उनीहरुमाथि अत्याचार गरिएको बताएका हुन् । नेता विश्वकर्माले उक्त घटनामा गृहमन्त्री रमेश लेखकको भने संलग्नता नरहेको बताएका छन् । गृहमन्त्रीले यसबारेमा संसद्मा जवाफसमेत दिइसकेको उनको भनाइ छ ।
‘त्यो जिम्मेवारीमा आफू बसेपछि र मातहतका निकायहरुले बदमासी गरेपछि त्यसको जिम्मेवारी प्रमुखले लिनैपर्छ । जिम्मेवारी लिएकै कारणले उहाँले संसद्मा जवाफ पनि दिनुभयो । आफ्नो जीवन कालमा त्यस्ता घटनामा कतै नलागेको बताउनुभयो,’– नेता विश्वकर्माले भने ।
कांग्रेस २००९ सालदेखि नै जातीय विभेदको विरुद्धमा रहेको उनले बताए । मुलुकमा जातीय छुवाछु्तको विभेद अन्त्य गर्न कांग्रेसको ठूलो भूमिका रहेको उनले बताए । गृहमन्त्रीले उक्त घटनामा संलग्न रहेका प्रहरीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले भने, ‘म आफैं पनि उहाँसँग लामो समय काम गरेको मान्छे, गरिराखेकै छु । उहाँको व्यक्तिगत आचरण, बानी, स्वभाव, कार्यशैलीसँग परिचित नै छु । उहाँले गर्नुभयो भन्दा पनि उहाँका मातहतका कर्मचारीले अथवा प्रहरी प्रशासनले, प्रहरीको संलग्नता देखियो । जसले कानुनविपरीत, मानवता विरुद्धको, गम्भीर मानवअधिकार उल्लङ्घनको घटना भएको छ । यसमा गृहमन्त्रीको जिम्मेवारी मेरो संलग्नता छैन भनेर पुग्दैन । संलग्न प्रहरीलाई कारबाही गर्नुपर्छ ।’ File Photo/RN




प्रतिक्रिया