संसद्को सर्वोच्चता कायम गरेर संविधान संशोधन गर्नुपर्छः गृहमन्त्री लेखक


काठमाडौं, २६ माघ । गृहमन्त्री रमेश लेखकले संसद्को सर्वोच्चता कायम गरेर संविधान संशोधन गरिनुपर्ने बताएका छन् । आज (शनिबार) नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सर्वोच्च थलो संसद् भएकाले संसदीय सर्वोच्चता कायम गरिनुपर्ने बताएका हुन् ।

‘हामी संविधान संशोधनको बाटोमा अगाडि बढ्दैछौं । त्यसमा छलफल र सहमति गर्न खोज्दैछौं । अब संविधान संशोधन गर्दाखेरी सुप्रिमेसी अफ पार्लियामेन्ट (संसद्को सर्वोच्चता) कायम गरेर अगाडि बढ्नु्पर्छ । किनभने जनताबाट आवधिक निर्वाचित, लोकतान्त्रिक ढंगले निर्वाचित जनताको सर्वोच्च थलो भनेको संसद् हो,’– उनले भने ।

जनताको साँचो प्रतिनिधि, राजनीतिको केन्द्र र जनता शक्ति संसद् रहेको दाबी गर्दै उनले राजनीतिक शक्ति संसद्मा रहनुपर्ने र संसद्ले सरकारलाई शासकीय शक्ति दिने बताए । राजनीतिक शक्ति संसदबाहेक अरुले प्रयोग गर्दा लोकतन्त्र कमजोर हुने उनको दाबी छ । File Photo/RN