काठमाडौं, २७ माघ । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अखिल (क्रान्तिकारी) को शपथ तथा पदभार ग्रहण कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डले अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागू भएसँगै वास्तविक विद्यार्थीका हातमा संगठन पुगेको अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको उक्त अभिव्यक्तिको खण्डण गर्दै उनले समाजिक सञ्जालमार्फत भनेका छन्ः
कमरेड प्रचण्डले हिजो हामी ४र५ जना साथीहरूको नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियो, अब हल भयो भन्नुभयो । उहाँले सार्वजनिक कार्यक्रममा बोलेको हुनाले यसबारे सार्वजनिक रुपमै केही भन्नुपर्ने भयो ।
१. कानुनी रुपमा अहिले प्रयोगमा आएको ३२ वर्षे उमेरहदभन्दा अगाडि नै अध्यक्षको जिम्मा पाइसकेको अवस्था हो । ३२ वर्ष वरिपरिमा त दोस्रो कार्यकालको जिम्मा शुरुआत भइसकेको थियो र विश्वविद्यालय पढेरै आएको हो हामीहरु ।
२. पहिलोपटक अध्यक्ष बन्ने निर्णय ०५९ को अन्त्यतिर सम्पन्न पार्टीको रोल्पा बैठकले गरेको थियो । त्यतिबेला म मकवानपुरको चुरे क्षेत्रतिर पार्टी काममा थिए । फलानोलाई अध्यक्ष बनाउनु पर्यो वा फलानोलाई बनाउन हुँदैन भन्ने न हाम्रो संस्कृति थियो, न हामीलाई त्यो मौका नै । अध्यक्ष बनाको उहाँहरुले नै होला ? दोस्रो पटक अध्यक्ष हुँदा पनि मै दोहोरिन्छु भनेर कहिल्यै कसैलाई भनिएन, खुल्ला परिवेशमा स्थापित नेतृत्व आवश्यक भनेर उहाँहरुले नै निर्णय गर्नुभएको हो । गज्जब त के भने तेस्रो पटक पनि तपाईं नै अध्यक्ष बन्नुपर्यो भन्ने उहाँको जोड थियो । योग्य साथीहरू धेरै तल जाममा परिरहनुभएको छ । मैले गर्ने योगदान गरिसकै । पुनः त्यही जिम्मा लिँदा योगदानको निरन्तरता वा ओरालो परिणाम मात्र हुन्छ । यसले विद्यार्थी आन्दोलन र विद्यार्थी साथीहरूलाई राम्रो पर्दैन । त्यसकारण यो हुनै सक्दैन भन्नै मै हुँ ।
३. जनयुद्धको समयमा शहरिया आन्दोलन जोखिमको विषय थियो । जसमा विद्यार्थी संगठन अग्रभागीय मोर्चा भन्ने पार्टी लाइन पार्टीले नै बनाको होला, अर्कोतिर क्याम्पस क्याम्पसबाट पुर्णकालीन कार्यकर्ता उत्पादन गरेर सैन्य मोर्चामा पठाउनु पर्ने योजना । यसअन्तर्गत कैयौं साथीहरू सहिद–वेपत्ता बन्नुभयो । हामी दर्जनौ पटक हिरासत, यातना, अपाङ्गता र लामो जेलजीवन बिताएर आएको इतिहास । पार्टीको निर्णय÷आदेशप्रति न प्रश्न उठाइयो, न इन्कार नै । हामी गलत कसरी भइयो ?
४. एउटा विषय दावाकासाथ भन्न सकिन्छ कि शैक्षिक आन्दोलन, संगठन परिचालन एवं यसले जनयुद्ध र त्यसपछिको परिवेशमा त्यतिबेलाको विद्यार्थी आन्दोलनले पुर्याएको योगदान र निर्माण गरेको मानक सामान्य थिएन, विशिष्ट थियो ।
५. टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन है अध्यक्ष कमरेड ।




प्रतिक्रिया