काठमाडौं, २७ माघ । वैंक, लघुवित्त, सहकारी, मिटरव्याजी र बिमा (इन्स्युरेन्स) लगायतका वित्तीय क्षेत्रमा भइरहेको अन्यायको विरुद्ध संगठित संस्थाहरुले महाकाली–मेची बोल राज्य नेपाल कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सम्भु थापा नेतृत्वको नागरिक युवा दस्ता नेपाल, दुर्गाप्रसाद पोख्रेल नेतृत्वको वैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति, सुधा पाठक नेतृत्वको लघु वित्तीय संस्था विरुद्ध संघर्ष समिति नेपाल,मित्र दुरा नेतृत्वको संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघ, मञ्जु भुजेल नेतृत्वको महिला विद्रोह संघर्ष समिति नेपाल, पुरन मल्ल ठकुरी नेतृत्वको कवाडी व्यवसायी महासंघ, रमेश तामाङ नेतृत्वको वित्तीय शोषण विरुद्व किसान–मजदुर संघ नेपाल, गोपाल किराती नेतृत्वको तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपाल तथा अध्यक्ष देशभक्त श्रमिक मोर्चा र मणिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषणविरुद्ध शङ्घर्ष समिति नेपालले माघ २७ (आज) देखि २०८१ फागुन २७ सम्म सो अभियान चलाउन लागेका हुन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महाकाली–मेची बोल राज्य नेपाल कार्यक्रमबारे जानकारी गराइएको हो । महाकाली–मेची बोल राज्य नेपाल अभियानमार्फत शोषित पीडित नागरिकको हस्ताक्षर संङ्कलन गरी राष्ट्रपतिसमक्ष पेश गरेर राज्यका सम्बन्धित निकाय तथा दलहरुलाई जवाफदेही तुल्याउने उद्देश्य रहेको बताइएको छ ।
उनीहरुले सरकारसमक्ष विभिन्न मागहरु पनि सार्वजनिक गरेका छन् । लघुवित्त, सहकारी, मिटरव्याजी, वैंक तथा बिमा (इन्स्युरेन्स) क्षेत्रका पीडित नागरिकको भरपर्दो न्याय र (आत्महत्या गरी मर्नु पर्ने जस्ता बाध्यतात्मक स्थिति अन्त्यगरी) पीडित नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने उनीहरुको माग छ । त्यस्तै, ताप्लेजुङको मुकुम्लुङ रक्षा आन्दोलनमा जोड्दार ऐक्यबद्वतासहित काठमाडौंको बोझेनी, बागलुङको ढोरपाटन, नवलपुरको दुम्कीबास, ग्रामथानलगायत आदिवासी आन्दोलन, जातव्यवस्था उन्मुलनको दलित आन्दोलन, महिला हिंसा विरोध, खस राष्ट्र पहिचान तथा प्रदेश नाम कोशी, बागमती खारेज आन्दोलनप्रति ९ संस्थाहरुले प्रतिवद्धता जनाएका छन् ।
वित्तीय संस्था अन्तर्गतका विभिन्न क्षेत्रमा भइरहेका शोषण, अन्याय, अत्याचार र नागरिकको बाँच्न पाउने अधिकारसमेत हनन भइरहेको उनीहरुको ठहर छ ।




प्रतिक्रिया