अध्यादेश पारित गर्न ढिलाईबारे प्रधानमन्त्री ओलीको टिप्पणी : अहिले सांसद गन्ने बेला भएको छैन


काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश पारित गर्नको लागि केही दिन समय लिने स्पष्ट पारेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले अध्यादेशबारे दलहरुसँग छलफल गर्नुपर्ने भएकोले केही दिन समय लाग्ने स्पष्ट पारेका हुन् ।

उनले भने,‘अध्यादेशबारे दलहरुसँग छलफल गर्नुपर्छ । अहिले सांसद् गन्ने बेला भएको छैन ।’ सरकारले माघ १८ गते नै अध्यादेश संसद्मा पेश गरिसकेको छ । माघ २४ गतेको बैठकमा नै पारित गर्ने कांग्रेस र एमाले सांसदहरुको दाबी थियो । तर, राष्ट्रियसभाबाट पारित गर्न बहुमत नपुग्ने भएपछि सरकार एकाएक ब्याक भएको हो । त्यसपछि सरकारले अध्यादेशलाई अघि बढाउन प्रक्रियामा लगेको छैन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालले साथ दिएमात्रै अध्यादेश माथिल्लो सदनबाट पारित हुनेछ । यादवमाथि यतिवेला सत्तारोहणको तयारी गरेको र अध्यादेश नै मुख्य हतियार बनाईएको आरोप लागेको छ ।

यद्धपी यादवको सचिवालयले भने अध्यादेशको पक्ष वा विपक्षमा कता उभिने भन्ने कुरा अब बस्ने संसदीय दलको बैठकबाट निर्णयमा पुग्ने दाबी गरेको छ । अध्यादेशलाई लिएर यादवले सरकारमा जानको लागि बार्गेनिङ गरेको भन्ने समाचार आधारहीन भएको उनको सचिवालयले स्पष्ट पारिसकेको छ ।