सरकार जति बलियो छ, आशंका र बेथिति पनि त्यतिकै बलियो देखिएको छः रास्वपा नेता अर्याल


काठमाडौं, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारप्रति आशंका र बेथिति बलियो रुपमा देखापरेको बताएका छन् । आज (आइतबार) बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले सरकारप्रति आशंका र बेथिति सरकारजतिकै बलियो रहेको बताएका हुन् । नेता अर्यालले वर्तमान सरकारले जनजीविकाको कुरालाई सोच्न नसकेको, नयाँ सोच, नवीन दृष्टिकोण र युवा सहभागितलाई स्वीकार नगरेको आरोप लगाए ।

‘नेपाली राजनीति पटक–पटक सरकार परिवर्तन, अस्थिर गठबन्धन र सत्ता असन्तुलनका कारण प्रभावित हुँदै आएको छ । यसले नीतिगत स्थायित्वलाई कमजोर बनाउँछ भने दीगो विकास तथा सामाजिक परिवर्तनको मार्ग प्रशस्त गर्न सक्दैन । जबसम्म राजनीतिक दलहरुमा युवाहरुको सहभागिता बढाउँदैनौं, नयाँ सोच र नवीन दृष्टिकोणलाई प्रोत्साहन गरिँदैन, तबसम्म राजनीति सत्ताको खेलमै सीमित रहन्छ । जनताको वास्तविक हितमा काम गर्न सकिँदैन । रुपान्तरणकारी राजनीतिका लागि मूल्यमान्यता, पारदर्शिता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य छ । तर, अहिलेको सरकारबाट भने यो पार लाग्ने सम्भावना देखिँदैन । दुई तिहाइको वर्तमान सरकार बलियो छ, चाह्यो भने देशमा केही परिवर्तन गर्न सक्छ । तर, सरकार जति बलियो छ, आशंका र बेथिति पनि त्यतिकै बलियो देखिएको छ,’– उनले भने ।

जनताको जनजीविका र सुशासनको मुद्दा उठाइरहेका नयाँ राजनीतिक दलहरुमाथि सरकारले डण्डा बर्साइरहेको र दमन गरिरहेको उनले बताए । राज्य सञ्चालन गर्नेहरुले अहिले नागरिकलाई सरकार भएको महशुस गराउनै नसकेको उनले बताए । सरकारले केही गरौं भन्ने सोचका साथ राजनीतिमा आएका नयाँ राजनीतिक शक्तिहरुलाई छानीछानी गलहत्याउन लागिपरेको उनले बताए । जनमैत्री काममा सरकारलाई रास्वपाको सधैं समर्थन रहने पनि उनले बताए । उनले व्यक्तिका पछाडि लागेर प्रतिशोध साध्ने काम नगर्न सरकारलाई सुझाव दिए ।

केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि सरकारले सरकारले संसद् छलेर अध्यादेश ल्याएको उनको आरोप छ । नेता अर्यालले राजनीतिलाई पेशा नै बनाएर भ्रष्टाचार गर्ने थलो बनाएकाहरुले भर्खरै राजनीतिमा प्रवेश गरेकाहरुमाथि दण्डा चलाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।

‘संसद् छलेर ल्याएको अध्यादेशको विषय होस्, वा व्यक्ति हेरेर निषेध र प्रतिशोधको राजनीति गरेको विषय होस्, धेरै यस्ता विषयहरु छन्, जसका कारण सरकारप्रति विश्वास गुमेको शंका गर्नुपर्ने परिस्थिति बनेको छ । संसद् बोलाउनुपर्ने समयमा नबोलाएर अध्यादेश ल्याउनुपर्ने आपत्ति यो के आइपरेछ सरकारलाई । कसको स्वार्थपूर्ति गर्न हतार–हतारमा अध्यादेश ल्याएको हो ? यसका जवाफ सरकारले दिनुपर्ने हुन्छ । यो सरकारको नियतमै खोट छ । व्यक्तिको पछि लागिरहेको छ । ज–जसले राजनीतिलाई पेशा नै बनाएर भ्रष्टाचार गर्ने थलो बनाए, उनीहरु आज भर्खरै राजनीतिमा प्रवेश गरेकाहरुमाथि दण्डा चलाउने प्रयास गरिरहेका छन्,’– उनले भने । File Photo/RN