एमाले सांसद गैरेद्धारा खानेपानी मन्त्रीको कार्यकक्षमा भएको आगलागी घट्नाबारे जानकारी दिन माग


काठमाडौं, २७ माघ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा रहेको मन्त्रीको कार्यकक्षमा भएको आगलागीको घट्नाबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

उनले देशकै मुख्य प्रशासनिक केन्द्र र राजधानीमै यस्तो घट्ना घटेपछि यसबारे जानकारी दिनु सरकारको दायित्व भएको सम्झाए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गैरेले यस्तो माग गरेका हुन् । उनले देशका राष्ट्रिय निकुञ्जमा खडेरी नआउँदै आगलागी भएको घट्ना उल्लेख गर्दै सरकारको तयारीबारे पनि सोधे ।

सांसद गैरेले केन्द्र, प्रदेश र स्थानीय सरकारलाई एकीकृत रुपमा विपद् न्यूनीकरणको लागि काम गर्न सुझाव दिए । विपद्पछिको उद्धार र राहतको लागि पनि विशेष योजना बनाउनको लागि उनले सरकारसमक्ष सुझाव पेश गरे ।