बाबुरामलाई रेशमको ढाडस ‘हामी तपाईँलाई बाबुराम भट्टराई होईन, बाबुराम नेपाली बनाउँछौं’


काठमाडौं, २७ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले बाबुराम भट्टराईलाई उनकै वर्गले सिध्याएको बताएका छन् । आज (आइतबार) नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता चौधरीले आफूहरुले बाबुराम भट्टराईलाई बाबुराम नेपाली बनाउन चाहेको पनि बताए ।

नेता चौधरीले नेताहरुको छोराछोरी, ज्वाईँ, आफन्त कोही पनि नेपालमा नबसेको तीतो यथार्थतालाई प्रस्तुत गर्दै नेताहरुको ब्यापार पनि विदेशतिरै हुन थालेको बताए । उनले गैरआवासीय नेपालीलाई १० वर्षको निःशुल्क भिसा दिने प्रावधानको समेत विरोध गरे । नेपालमा किसानहरुले कर नतिरी मल नपाउने तर डलर कमाएर बसेकाहरुलाई निशुल्क भिसा दिने कार्य राम्रो नरहेको उनको भनाई छ ।

‘बाबुरामजी के गर्नु तपाईँ विधि, विधान सबै मिलाउन जान्ने व्यक्ति, तपाईँलाई तपाईँकै वर्गले अलग्याए । चिन्ता नगर्नुस्, तपाईँ रत्तिभर चिन्ता नगर्नुस्, हामी तपाईँलाई मिलाउँछौं । हामी तपाईँलाई बाबुराम भट्टराई होईन, बाबुराम नेपाली बनाउन चाहन्छौं । हामीलाई नेपाली बाबुराम चाहिएको छ,’– बाबुरामलाई ढाडस दिँदै नेता चौधरीले भने ।

उनले नाउपा, सिके राउत नेतृत्वको जनमत पार्टी, समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा, बाबुराम नेतृत्वको नेसपा (नयाँशक्ति) मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।