काठमाडौं, २७ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिमा उदायका नयाँ शक्तिहरुमाथिको चुनौति साझा रहेको बताएका छन् । आज (आइतबार) नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दैै उनले अहिले नयाँ शक्तिहरुलाई राजनीतिमा उदाउनै नदिन चलखेल भइरहेको बताए । थ्रेसहोल्ड १० प्रतिशत बनाउने, ७५३ स्थानीय तहमध्ये ७ सयवटा स्थानीय तहमा पार्टीको संरचना हुनैपर्ने, ८० प्रतिशत ठाउँमा उम्मेदवार उठाउनैपर्ने लगायतका व्यवस्था ल्याएर नयाँ दलहरुलाई सकाउने प्रयत्न भइरहेको बताएका हुन् ।
सत्तासाझेदार मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) तर्फलक्षित गर्दै उनले आफूहरुलाई भ्रूणहत्यारा राजनीतिक व्यवस्था स्वीकार्य नरहेको बताए । उनले यदि त्यासो गर्ने प्रयत्न गरिए विद्रोह हुने चेतावनीसमेत दिए ।
‘हाम्रा चुनौतिहरु पक्कै पनि साझा छन् । त्यति सहज पनि छैन, अहिलेको जुन व्यवस्था लादिएको छ हामीकहाँ, त्यसमा पक्कैपनि नयाँ पार्टीहरुलाई स्पेस दिनेगरी बनाइएको छैन । अहिले तपाईँहरुले थ्रेसहोल्डको कुरा सुन्नुहुन्छ, १० प्रतिशत, ५ प्रतिशत थ्रेसहोल्ड राखिदिने, ८० प्रतिशत ठाउँमा उम्मेदवार उठाउनैपर्ने, त्यतिमात्रै नभएर ७५३ स्थानीय तहमध्ये ७ सयवटा स्थानीय तहमा पार्टीको संरचना हुनैपर्ने, यस्तो खालको क्राइटयरियाहरु जानेर पनि किन राखेका छन् भन्दाखेरी नयाँ पार्टीको उदय नै नहोस्, उदय हुनुभन्दा अगाडि नै समाप्त होस् । कोही बच्चा जन्मिँदैमा ८० केजीको हुँदैन । बढ्दैबढ्दै ८० केजीको हुने हो । हुर्किने माहोल बनाउनु पर्छ । भ्रुण हत्यारा राजनीतिक व्यवस्था स्वीकार्य हुँदैन । नभए एक न एकदिन विद्रोह सुरुहुन्छ,’– डा.राउतले भने ।




प्रतिक्रिया