खाइपाई आएको ग्रेड तलबमान नपाएको सेवा निवृत्त वन कर्मचारीहरुको गुनासो


काठमाडौं, २७ माघ । नेपाल वन सेवाका सेवा निवृत्त वन रक्षकहरुको आफूहरुले खाइपाई आएको ग्रेड तलबमान नपाएको गुनासो गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहूले राष्ट्रिय कितावखानाले सर्वोच्च अदालतबाट भएको फैसलासमेत कार्यान्वयन गर्न नमानेको बताएका हुन् ।

उनीहरुले आफूहरु अन्यायमा परेर वन मन्त्रालयसँग अनुनय विनय गर्दासमेत आफूहरुको कुरा सुनुवाइ नभएको बताए । सेवा निवृत्त वनका कर्मचारीहरुलाई प्राविधिक ग्रेड २ र समायोजन ग्रेड २ गरी ४ ग्रेड नदिइएको उनीहरुले बताए ।

सेवा निवृत्त कर्मचारी तिलकबहादुर भट्टराईले आफ्नो पीडा सुनाउँदै भने, ‘सेवा निवृत्त भएकालाई खुवाउनु भन्ने आदेश जारी हुँदा पनि उहाँहरुले फैसला कार्यान्वयनसमेत बेवास्ता गरी हामीलाई न्याय दिने काम गर्नुभएन । हामीलाई विभिन्न बहानामा हैरानी र दुःख दिने काम भयो ।’

सर्वोच्च अदालतजस्तो न्यायिक निकायबाट भएको फैसलालाई पनि राष्ट्रिय कितावखानाले बेवास्ता गरेको उनले बताए । सोही फैसलाको आधारमा बहालवाला कर्मचारीहरुले ग्रेड सुविधा खाइपाइ आएको तर सेवा निवृत्त कर्मचारीलाई विभेद गरिएको उनले बताए ।