माओवादी सशस्त्र संघर्ष हिंसा नै होः एमाले नेतृ न्यौपाने


काठमाडौं, २८ माघ । नेकपा (एमाले) कि नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तत्कालीन माओवादी सशस्त्र संघर्ष हिंसा नै रहेको दाबी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्यकर्ताले लडेको युद्धलाई जनयुद्ध भन्न नमिल्ने बताएकी हुन् । माओवादीले तत्कालीन समयमा निहत्था मानिसहरुको समेत हत्या गरेको उनको आरोप छ ।

‘माओवादीको जनयुद्ध त नभनौं, संविधानले पनि स्वीकारेको छैन । जनयुद्ध भनेको के हो ? जनयुद्ध भनेको जनता सबै युद्धमा होमिएको हुनुपर्छ । कार्यकर्ता होमिएकोलाई जनयुद्ध भनिँदैन । हिंसा नै हो । हामीले कहिले पनि स्वीकार गरेनौं । शान्तिपूर्ण बाटोबाट नै परिवर्तन सम्भव छ, रहेछ नि त,’– उनले भनिन् ।

साथै, फरक प्रसंगमा उनले अध्यादेश संघीय संसद्को दुवै सदनबाट पारित हुने दाबी गरिन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश अध्यादेश सकारात्मक रहेको प्रतिक्रिया दिएको पनि उनले बताईन् ।