काठमाडौं, २८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न चाहेको आरोप लगाएका छन् । आज (सोमबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीले संविधान खारेज होस् र अहिले परिवर्तन सबै बर्वाद होस् भन्ने चाहेको बताएका हुन् । ‘उहाँ (ओली) ले त आन्दोलन परिवर्तन सबै बर्वाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि हाम्रो अहिलेको प्रधानमन्त्री त,’– अध्यक्ष प्रचण्डले भने ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा दुई/दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी नै रहेको उनको दाबी छ । वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने पनि उनले ठोकुवा गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा समर्थन गर्न नहुने प्रचण्डको तर्क छ । प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषयमा आएको अध्यादेश गलत रहेको उनले बताए ।
‘सदनमा अध्यादेश प्रस्तुत भएका छन्, तर ती रोकिएर बसेका छन् । तपाईँहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नु भएकै होला । त्यहाँ अहिले अगाडि बढ्न सकिराखेको स्थिति छैन । सरकारले सदन बोलाउनुपर्ने बेलामा गलत नियतले अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यो कुराको बारेमा सदनमा पनि मैले प्रष्ट भनेको छु, हाम्रो दलको तर्फबाट र बाहिर पनि,’– प्रचण्डले भने ।
वर्तमान सरकार सरकार जनताको पक्षमा, राष्ट्रको पक्षमा र सुशासनको पक्षमा काम गर्न नबनेको प्रचण्डको दाबी छ । भ्रष्टाचारको विरुद्ध तत्कालीन सरकारले चलाएको अभियानलाई रोक्नका वर्तमान सरकार बनेको उनले दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारबाट आशा गर्न सकिने ठाउँ नै नरहेको दाबी गरे । ‘यसबाट धेरै राम्रो कुराको आशा गर्ने ठाउँ सुरुदेखि नै थिएन । दोस्रो कुरा यो सरकार संविधान मिचेर बनेको सरकार हो । किनकी ७६ (२) अनुसार मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदा असफल भएपछि सिधै ३ मा गएर ठूलो दलको सरकार बन्ने हो । संविधानमा अर्को कुनै ठाउँ छैन । यो लोकतन्त्रको मर्मविपरीत पनि छ । संसदीय लोकतन्त्र भन्ने ठाउँमा पहिलो र दोस्रो दल मिलेर सरकार बन्दैन । नेपालमा लोकतन्त्रको मर्मविपरीत भयो । यो सरकारबाट धेरै आश गर्ने कुरा छैन,’– उनले भने ।





प्रतिक्रिया