काठमाडौं, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकप्रति आपत्ति जनाएका छन् । नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी विधेयक ल्याइएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेता श्रेष्ठले शक्ति र सत्ताबाट झुठ बोल्नेहरु पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताए । ‘गंगालाल, धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाईँ अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो ?’ भन्दै उनले सरकारसँग प्रश्न गरे ।
‘हामीसँग यतिधेरै जेल छन् ? जहाँ सामाजिक सञ्जाल नियमनविधेयक पछिका कसुरदारहरुलाई राख्न सकियोस् । सरकार खुद्रे कुरामा लाखौं, करोडौं जरिवानाको मेन्यू ल्याउँदै छ । नागरिकलाई तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर, झुठो आस्वासन दिने, असम्भव कुरा गर्ने र वाचा गर्नेहरु चाहिँ उन्मुक्त ? यो विधेयक साँच्चै न्यायको लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियार हो ? यदि कानुन सबैको लागि हो भने शक्ति र सत्ताबाट झुठ बोल्नेहरु पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ,’– उनले भने ।
नागरिकहरुले अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा कृष्णसेन इच्छुकको कविता गाइरहेको उनले बताए । तर, सरकार भने अभिव्यक्ति स्वतन्त्रता खोस्ने गरी अगाडि बढेको भन्दै उनले इच्छुकको कविता यसरी सम्झिए,‘हाम्रा विचारहरुमा प्रतिबन्ध लगाउँदै, हाम्रो ओठहरुमा ताल्चा झुण्ड्याउँदै । तिमी भन्छौं गाउन त गाउ, तर यो गीत नगाउ । हामीभने त्यही गीत गाइरहन्छौं ।’ File Photo/RN




प्रतिक्रिया