‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’


ललितपुर, माघ २९ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गरेका छन्।

गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गरेका हुन्।

“रथ बनाउन प्रयोग हुने बेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु, रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध छ, अब काठमाडौँ र आसामबीच सिधैँ हवाई उडानबाट यात्राको व्यवस्था मिलाउन सकियोस्, यसले दुई देशबीच आवतजावत बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ”, उनले भने ।

नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्तासहित आह्वान गरे । “रातो मच्छिन्द्रनाथको जात्रा हेर्न ललितपुर आउनुहोस्, भव्यताका साथ स्वागत गर्न आतुर छु”, उनले भने ।

कुनै पनि किलाकाँटाको प्रयोगबिना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ ।

नगरप्रमुखले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा पर्यटन संस्कृति समितिका संयोजक वडाध्यक्ष विकासमान श्रेष्ठ, समितिका सदस्यद्वय रुपेन्द्रराज शाक्य र राजेन्द्र महर्जन, महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष शन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार बाराहीलगायत छन् । रासस