शंकर पोख्रेलले परीणाम भन्दापनि हल्ला बढि गरेको एमाले सांसद शाहीको आरोप


काठमाडौं, २९ माघ । नेकपा (एमाले) का सांसद दयालबहादुर शाहीले आफूहरुले माओवादीसँग चोचोमोचो नमिलाएको दाबी गरेका छन् । आज (मंगलबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जालमै वाम सहकार्यको कुरा गरेको प्रसंग पत्रकार मल्लले कोट्याउँदा नेता शाहीले ‘गुगलमा चलेको कुरा, भूगोलमा चल्दैन’ भनेर पन्छिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँडाको ओछ्यान र काउसाको मालाको संज्ञा दिए ।

उनले भने,‘अब फेरि हामीलाई काँडाको ओछ्यान र काउसाको माला लगाउनु छैन् ।’ महासचिव शंकर र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच लुम्बिनीको राजधानीको विषयमा चोचोमोचो मिलेको उनको दाबी छ । उनले शंकर पोखरेललाई वैचारिक नेतामात्रै रहेको उल्लेख गर्दै मदन भण्डारी र केपी शर्मा ओलीजस्तो रणनीति (ट्याक्टिस) बुन्न तेजतराज नेता नभएको टिप्पणी गरे ।

पोखरेलका सामाजिक सञ्जालका गतिविधि आफूले पनि नियाँलेको बताउने शाहीले पोखरेलका सबै गतिविधि रक्षात्मक बनेको आरोप लगाए । उनले शंकर पोखरेलले वर्षमानसँग गरेको वाम सहकार्यको प्रस्ताव एमालेको मूल भर्सन नभएको दाबी गरे । उनले महासचिव पोखरेलमाथि फेशबुके राजनीति गरेको गम्भीर आरोप लगाए ।