मुख्यमन्त्री सिंह नेतृत्वको मधेश सरकार पूर्णरुपमा असफल भयो: कांग्रेस नेता गुप्ता


काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह असफल भएको आरोप लगाएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुख गुप्ताले अहिलेसम्म कूल बजेटको ४० प्रतिशत खर्च भईसक्नुपर्ने भएपनि विकासको नाममा केही गर्न नसकेको र खाली भाषणमै सिमित रहेको भन्दै मुख्यमन्त्री सिंहको चर्को आलोचना गरेका हुन् ।

नेता गुप्ताले मधेशमा जबसम्म काँग्रेसको नेतृत्वमा सरकार बन्दैन तब सम्म मधेश प्रदेशमा विकासको लहर नआउने जिकिर गरे । उनले भ्रष्टाचार, लुटतन्त्र, कमिशन चक्करमा रहेको प्रदेश सरकारको कार्यशैलीले मधेशमा विकासको नममा भ्रष्टाचार मौलाउदै गएको आरोप लगाएका छन् ।

उनले मुलुकबाट भ्रष्टाचारको अन्त्यका लागि कर्मचारीहरुको तलबमा उल्लेखनीयय वृद्धि गरिनुपर्ने पनि बताएका छन् । ससाना कर्मचारीलाई अख्तियारले समाउने तर ठूलठूला कर्मचारीलाई संरक्षण गरेको हुँदा नेपालमा अख्तियारप्रतिको विश्वास घट्दै गएको उनको भनाइ छ ।