एमालेलाई माओवादी नेताको चेतावनी : वाम एकता भनेर जनता झुक्याउने खेलोफड्को नगरे हुन्छ (भिडिओसहित)


काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले सरकारले ल्याएका अध्यादेश राष्ट्र र जनता दुवैको हितमा नभएको आरोप लगाएका छन् । उनले अहिले ल्याईएका अध्यादेशले केही वर्गको मात्रै हित हुने देखिएको आरोप लगाए ।

आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले ल्याईएका अध्यादेश केही स्वार्थ समूहको हितको लागि मात्रै भएको दाबी गरे । उनले आफ्नो दल अध्यादेशको पक्षमा नरहेको स्पष्ट पारे । तत्काल एमालेसँग सहकार्य वा मिल्ने सम्भावना नभएको शर्माको भनाई छ ।

उनले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहेसम्म वाम एकताको सम्भावना नभएको कुरा आफ्नो पार्टीको अध्यक्ष प्रचण्डले स्पष्ट पारिसकेको पनि सुनाए । उनले भने,‘एमालेले वाम एकता भनेर जनता झुक्याउने खेलोफड्को नगरे हुन्छ ।’ वाम सहकार्य आवश्यकत्ता हो भने हिजो गरिएको एकता किन भाँडियो भनेर उनले प्रश्न गरे ।

उनले आफूहरु एमालेसँग धेरै पटक झुक्किएको भन्दै अब झुक्किने पक्षमा नरहेको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दलको रुपमा आफूहरुले सक्रिय भूमिका खेलेको स्पष्ट पारे । उनले अध्यादेश पारित गर्नको लागि एमालेलाई कुनै सहयोग नरहने जवाफ दिए । file photo