अनेरास्ववियु अध्यक्ष बडालको चुनौती: ड्युटीमा रहेका प्रहरी कुटिएको घटनाको संसदीय समिति गठनगरि छानबिन गर


काठमाडौं । गत माघ २४ गते प्रहरीको क्यूआरटी (क्वीक रेस्पोन्स टिम) माथि आक्रमण भएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्न अनेरास्ववियुले चुनौती दिएको छ ।

सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अनेरास्ववियुलाई बदनाम गर्नेगरि सांसदहरुले कुरा राखेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न चुनौती दिएको हो । आज अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको बताएका छन् ।

‘तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत् अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गर्दछ’, उनले भनेका छन् ।

माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम ९क्यूआरटी० को टोलीमाथि आक्रमण भएको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।

सो घटनामा अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सोही क्याम्पस इकाइ उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल सिग्देल, अनेरास्ववियू नेता रमेश फुलारालालगायतको संलग्नता रहेको आरोप लागेको छ ।

सो घटनामा संलग्न सिग्देल र फुलारालाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, जोशीलाई भने शक्तिको आडमा उन्मुक्ति दिइएको भन्दै आलोचना भइरहेको छ । मदिराले लठ्ठ भएर हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरीमाथि निर्घात कुटिएको भन्दै मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रकि नेतृ एवं प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा तामाङ र रास्वपाका सांसद शिशिर खनालले कुरा राखेका थिए ।

तर, अनेरास्ववियुका अध्यक्ष बडालले भने प्रतिपक्षी दलका सांसदले अनेरास्ववियु र यसका सदस्यहरूमाथि आशंका उब्जाउने गरी अनर्गल प्रचार गरेको जिकिर गरेको छ । ‘आशंका उब्जाउने गरी अनर्गल प्रचार गर्ने माननीयहरूलाई संसदीय समिति गठन गरी सत्य तथ्य अध्ययन गर्न चुनौती दिन चाहन्छौं । अपराधका घटनालाई राजनीतिकरण नगरी वास्तविक दोषीमाथि कारबाही होस् भन्ने हाम्रो माग छ’ बडालले विज्ञप्तिमा भनेका छन् ।