काठमाडौं, ३० माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले सरकारको ल्याएको अध्यादेश स्वीकृत नहुने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहन नसुहाउने बताएका छन् ।
आज (बुधबार) पार्टीनिकट समाजवादी प्रेस संगठन उदयपुरले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेश सदनबाट अस्वीकृत हुने अवस्था आउँदा नैतिकताको आधारमा सत्ता छाड्नु उपयुक्त हुने बताएका हुन् । वर्तमान सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेकोसमेत उनले आरोप लगाए ।
संसद्को प्रमुख दुई ठूला दलबीचको गठबन्धनमा बनेको सरकारले एउटा विधेयक पनि ल्याउन नसक्ने कुनै परिस्थिति नबनेको र अध्यादेश ल्याउनु गलत रहेको उनको भनाइ थियो । ‘अध्यादेशहरू ल्याइएको छ, अध्यादेश संसदबाट पास हुन्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन । दुवै सदनमा बहुमत छैन । फेरि पनि सरकारमै दुई दल बसिरहन मिल्छ कि मिल्दैन ?’ प्रश्न गर्दै उनले भने ।
साथै, नेता खनालले आफू एमालेमा जाने कुनै सम्भावना नरहेको जिकिर गरे । ‘मति भ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु,’– खनालले भने ।




प्रतिक्रिया