जलमग्न बबरमहल क्षेत्र निरीक्षणमा गए खानेपानीमन्त्री यादव


काठमाडौं, ३० माघ । खानेपानीमन्त्री प्रदीप यादवले जलमग्न बबरमहल क्षेत्रको निरीक्षण गरेका छन् । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुवानमा परेको थियो । दिउँसो २ बजे आसपासमा पाइप फुटेपछि बबरमहलको जिल्ला अदालत,विषेश अदालत परिसर डुवानमा परेको हो ।

मन्त्री यादवका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा पाइप फुटेको हो । आफू कार्यक्रमको लागि पोखरामा भएपनि पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ काठमाडौं फर्किएको उनले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, पिआइडि प्रमुखलाई पानी बन्द गर्नसमेत निर्देशन दिइएको उनले बताए । अहिले करिब ५० प्रतिशत पानी घटिसकेको पनि उनले जानकारी गराएका छन् ।

मन्त्रालयकी सचिव इ प्रमिलादेवी शाक्य (बज्राचार्य), केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरीसहित मन्त्रालयको टोली पानी निकास र रोकथामका लागि बबरमहलमै रहेको पनि उनले बताए ।