कर्मचारीहरुलाई मन्त्री गुरूङको निर्देशनः तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु


काठमाडौँ, ३० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बर्ताएका हुन् । पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा रहेको उनले बताए ।

मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरूङको जोड थियो । उनले सम्बन्धित निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राखे ।

मन्त्री गुरूङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिए । “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,” मन्त्री गुरूङले भने ।

उनले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताए । मन्त्री गुरूङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताए ।