जनयुद्धको विरोध गर्नु भनेको गणतन्त्र र संविधानलाई स्वीकार नगर्नु होः माओवादी महासचिव गुरुङ


काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जनयुद्धको विरोध गर्नु संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, सामाजिक न्यायसहितको अधिकारलाई अस्वीकार गर्नु रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनयुद्धकै जगमा नेपालमा यी परिवर्तनहरु सम्भव भएको बताएका हुन् ।

‘जनयुद्ध इतिहास हो, नेपालको यथार्थता हो, सत्यता हो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि भएको ऐतिहासिक जनयुद्ध हो । यसैको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, सामाजिक न्यायसहितको अधिकार स्थापित गर्ने बाटो खुलेको छ । त्यस कारणले गर्दा यो नेपालको इतिहासमा महत्वपूर्ण र गुणात्मक प्रकारको योगदान पुर्याएको छ,’– उनले भने ।

जनयुद्ध नेपालको इतिहासमा दर्ज भइसकेको विषय रहेकाले यो अनन्त कालसम्म नमेटिने उनले बताए । परिवर्तनकारी र अग्रगामीहरुले माओवादी जनयुद्धलाई स्वीकार गरेको उनले बताए । जनयुद्ध र गणतन्त्रबीचमा अन्तरसम्बन्ध रहेको उनले बताए । महासचिव गुरुङले फललाई स्वीकार गर्ने, तर रूखलाई स्वीकार नगर्ने प्रवृत्ति स्वीकार्य नरहेको बताए । File Photo/RN