गणतन्त्र आउनुमा माओवादीको योगदान छ, तर जनयुद्ध हिंसा नै होः कांग्रेस नेता केसी (भिडिओसहित)


काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले माओवादी सशस्त्र संघर्ष (जनयुद्ध) हिंसा रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी सशस्त्र संघर्ष हिंसा भएकाले यसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसकिने बताएका हुन् । तत्कालीन विद्रोही माओवादी कांग्रेसको अग्रसरतामा शान्तिपूर्ण राजनीतिमा आएको उनले स्मरण गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको बेलामा भएको विदा दिने निर्णयलाई पनि आफूहरुले विरोध गरेको नेता केसीले बताए ।

‘तत्कालीन अवस्थामा उहाँहरुले जुन हिंसा गर्नुभयो, त्यो हिंसालाई शान्तिपूर्ण हिसाबले राष्ट्रिय राजनीतिमा ल्याएकै हो । उहाँहरु आएकै हो । त्यो एउटा अवस्था हो । तर, हिंसालाई राष्ट्रिय दिवस भनेर हामी मनाउँदैनौं, त्यो हिंसा थियो । उहाँ (प्रचण्ड) प्रधानमन्त्री हुँदा उहाँले सार्वजनिक विदा दिएको हो । हामीले साथ दिएको होईन, त्यतिखेर पनि ठूलो विवाद भएकै हो,’– उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था ल्याउनुमा माओवादीको योगदानलाई भने नकार्न नसकिने उनको तर्क छ । तर, त्यो परिवर्तन शान्तिपूर्ण रुपमा पनि सम्भव थियो भन्ने आफूहरुको विश्वास रहेको नेता केसीले बताए । ‘गणतन्त्र ल्याउन भूमिका थियो । लोकतन्त्र आइसकेको कुरा हो । ब्यालेटबाट नै परिवर्तन हुन्छ भन्ने हाम्रो सोच हो । बुलेटबाट सत्ता परिवर्तन हुन्छ भन्ने उहाँहरुको सोच हो । हिंसा नगरी पनि गणतन्त्र आउन सक्थ्यो होला नि त ? बुलेटको माध्यमबाट सत्ता परिवर्तन हुन्छ भन्ने कुरा हामी लोकतन्त्र वादीहरु विश्वास गर्दैनौं,’– उनले भने ।