काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले संसद् विघटन गरेर सबैभन्दा खतरनाक कम्युनिष्टविरोधी काम गरेको आरोप लगाएका छन् । ओलीले संसद् विघटन गरेकै कारण पार्टी फुटेको खनालको आरोप छ ।
हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आजको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद भएको निश्कर्ष सुनाए । त्यसको लागि क्रान्तिकारी कार्यदिशा लिएर अघि बढ्नुपर्ने आवश्यकत्तापनि खनालले बताए ।
सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्था भयो भने प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता प्रदर्शन गर्नुपर्ने खनालको सुझाव छ । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिनपनि सुझाव दिए । खनालले विगतमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विद्येयक फेल हुँदापनि राजीनामा दिएको इतिहास स्मरण गराए ।
उनले रवि लामिछानेमाथि अहिले प्रशासनले नराम्रो ढंगले खेदो खनेको दाबी गरे । पत्रकार धमलाले रास्वपा र रवि लामिछानेको भविष्यबारे सोधेको प्रश्नमा नेता खनालले भने-“रवि लामिछानेले कति गल्ती गरेको हो ? अब अदालतले छानबिन आदि गर्दैछ, सबैकुरा बाहिर आओस। तर, अहिले प्रशासनले नराम्रो ढंगले खेदो गरेको देख्छु मैले । एउटा व्यक्तिलाई जति धेरै अपराध गरेको भएपनि एक ठाउँमा ल्याएर बयान लिन सकिन्छ नि त । १० वटा, २० वटा मुद्दा लाग्ने हो भनेपनि उसलाई एक ठाउँमा ल्याएर नसकिने होइन भन्ने कुरा मलाई लाग्दैन् । कहिले चितवन, कहिले बुटवल, कहिले पोखरा, कहिले काठमाडौं, कहिले कहाँ ? यो खालको प्रवृत्ति, अहिलेको सरकारले अलिक दुःख दिएर र पेलेरै ठीक गर्न खोजेको हो कि ? यो साइकोलोजी अहिले विकसित भैरहेको छ ।”
अहिलेको प्रधानमन्त्री ओलीले लिएको बाटो सर्वथा गलत बाटो भएको खनालको टिप्पणी छ । उनले भने-“यो गलत बाटो छोड्नुहोस । कम्युनिष्ट आन्दोलनको रिभ्यु गर्नुहोस । पार्टीकै रिभ्यु गर्नुहोस । र, आफूले गरेका जे गल्ती छन्, ती सच्याउनुहोस । सबै कम्युनिष्टहरुलाई अंगालो मार्ने फराकिलो अंगालो बनाउनुहोस । आग्रह र पूर्वाग्रहबाट मुक्त हुनुहोस । साझा आधारमा एकता गर्न पहल गर्नुहोस ।”




प्रतिक्रिया