देउवा निवास बूढानीलकण्ठमा कांग्रेस संस्थापन पक्षको बैठक जारी, गुट फेरेका साउद पनि उपस्थित


काठमाडौं । गत १४औं महाधिवेशनमा आफूलाई सभापति निर्वाचित गराउन भूमिका खेलेका नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् ।

देउवा निवास बूढानीलकण्ठमा बिहानैदेखि संस्थापन समूहका नेताहरु छलफलमा जुटेका हुन् । छलफलको विषय सार्वजनिक गरिएको छैन् । यद्यपि संसदमा स्वीकृत हुन नसकेको अध्यादेश, आगामी महाधिवेशन र सरकारको काम कारबाहीबारे छलफल हुने स्रोतले जनाएको छ ।

बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।

छलफलका लागि उपस्थित साउदले देउवा गुट छाडेको चर्चा चल्ने गरेको छ । उनले देउवा क्याम्प छाडेर संस्थापन इतर समूहका नेता डा शेखर कोइरालालाई साथ दिएको चर्चा छ । यद्यपि उनले यसबारेमा मुख खोलेका छैनन् ।