चीनले नेपालका कम्युनिष्टहरु मिलुन् भन्ने चाहन्छः पूर्वप्रधानमन्त्री खनाल (भिडिओसहित)


काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले छिमेकी मुलुक चीनले नेपालका कम्युनिष्टहरु मिलुन् भन्ने शुभेच्छा राखेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले यस्तो खुलासा गरेका हुन् । आफूले पटक–पटक चिनियाँ नेताहरुलाई भेट्दा नेपालका कम्युनिष्टहरु मिलुन्, एक होउन् भन्ने शुभेच्छा पाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले चीनको चाहना र शुभेच्छाले मात्रै नेपालका कम्युनिष्टहरु नमिल्ने बताए । नेपालको कम्युनिष्ट आन्दोलन यहाँकै यथार्थतामा आधारित भएर अगाडि बढ्नु्पर्ने उनको भनाइ छ । नेपालका कम्युनिष्टहरु आफैंले प्रयत्न गर्दा भने वामपन्थी एकता सम्भव रहेको उनले बताए ।

‘चीनले नेपालका कम्युनिष्टहरु मिलुन् भन्ने चाहीँ चाहन्छ । मैले आफैंले चिनियाँ नेताहरुलाई भेट्दा उनीहरु त्यो कुरो गर्छन् । त्यो साँचो कुरा हो । तर, उनीहरुको शुभेच्छा र पहलले यहाँका कम्युनिष्टहरु मिल्दैनन् । किनभने यहाँको कम्युनिष्ट आन्दोलन यहाँकै यथार्थतामा आधारित भएर अगाडि बढ्नुपर्छ । कस्ता नीति लिने, कस्तो कार्यदिशा लिने, कस्तो उद्देश्य लिने आदि कुराहरु यहाँकै कम्युनिष्टहरुमाथि भर पर्छ । उनीहरु आफैंले प्रयत्न गरेभने चाहिँ सम्भव छ,’– उनले भने । File Photo/RN