सुदूरपश्चिममा विषयगत समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका सार्वजनिक, यी हुन् नेतृत्वकर्ता


काठटमाडौं । जेष्ठ सदस्यको भरमा चलेको एक वर्षपछि सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिका सभापतिहरुको निर्वाचन कार्यक्रम सम्बन्धी कार्यतालिका सार्वजनिक भएको छ । प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कार्यतालिका प्रकाशन गरेका हुन् ।

प्रदेश सभा नियमावली, २०५० को नियम १५५ बमोजिम गत साल माघ १८ गते शुक्रवार प्रदेश सभा अन्तरगतका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका सभापतिहरुको निर्वाचनको मिति तोकिएकोमा विशेष कारणले तोकिएको समयमा निर्वाचन कार्यक्रम सम्पन्न हुन नसकि स्थगित भएको थियो । उक्त विषयगत समितिका सभापतिहरुको निर्वाचन यहि फागुन ४ गते आईतबारको दिन सम्पन्न हुने गरी सभामुखले मिति तय गरेका छन् ।

सार्वजनिक कार्यतालिका अनुसार मातदाता सदस्यहरुको नामावली प्रकाशन भोलि बिहान १० बजे हुनेछ । त्यस्तै भोलि नै बिहान ११ बजेदेखि ११ ३० सम्म मतदाता नामावली उपर दाबी विरोध गर्ने कार्यसूची छ । १२ बजे अन्तिम नामावली प्रकाशन र भोलि नै सभापतिमा निर्वाचित गरिओस् भन्ने प्रस्ताव दर्ता गरिनेछ ।

आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

गत महिना भएको सहमति अनुसार प्रदेश सभाका चार विषयगत समितिको सभापति सर्वसम्मत रुपमा चयन हुनेछन् । स्रोतका अनुसार माओवादीको भागमा परेका लेखा समितिमा अक्कल रावल, विषेशाधिकार समितिमा कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकासमा एमालेका धर्मराज पाठक र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरीले उम्मेदवारी दिने कार्यक्रम छ । उनीहरु निर्विरोध निर्वाचित हुनेछन् ।