भारत भ्रमणलगत्तै प्रधानमन्त्री ओलीसँग उर्जामन्त्री खड्काको भेट, भारत भ्रमण होला त ?


काठमाडौं, २ फागुन । उर्जामन्त्री दीपक खड्काले आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ब्रिफिङ गरेका छन् । मन्त्री खड्का हिजोमात्रै भारतमा आयोजित ‘इण्डिया इनर्जी वीक–२०२५’ मा सहभागी भएर स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएको भोलिपल्ट आज मन्त्री खड्काले प्रधानमन्त्री ओलीसँग भेट गरेर आफ्नो भ्रमणको बारेमा ब्रिफिङ गरेका हुन् । उनले भ्रमण फलदायी भएको बताएको उनको सचिवालयले जनाएको छ । सो क्रममा उनले भारतीय विद्युतमन्त्री चाँडै नेपाल आउने तय भएको र भारतीय विद्युतमन्त्रीको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओलीको पनि भारत भ्रमण तय हुने जानकारी गराएका छन् ।

भारतीय उच्च अधिकारीहरुसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीको चाँडै भ्रमण हुने कुरा भएको मन्त्री खड्काको भनाई छ । प्रधानमन्त्री ओलीले चाँडै भारत भ्रमण गर्छु भनेको यतिका महिना बितिसकेको छ । उनको अहिलेसम्म भ्रमण तय भएको छैन् । चीन भ्रमणबाट फर्किएलगत्तै भारत जान्छु भनेपनि अहिलेसम्म भ्रमणको कुनै तयारी गरिएको थिएन । तर, अहिले मन्त्री खड्को भारत भ्रमणपछि फेरि प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीबारे चर्चा सुरु भएको छ ।