उपेन्द्र र महन्थ भूमिहीन, सुकुम्बासी जनताको विपक्षमा हुनुहुँदो रहेछः रहेछः एमाले नेता रिजाल (भिडिओसहित)


काठमाडौं, ३ फागुन । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर भूमिहीन र सुकुम्बासी जनताको विपक्षमा रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्तारुढ दलले नै भूमिसम्बन्धी अध्यादेश समर्थन नगर्ने भनी गरेको निर्णयले उनीहरु भूमिहीन र सुकुम्बासी जनताको विपक्षमा रहेको पुष्टि गर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनमा रहेको सरकारको विरुद्धमा निर्णय गर्नु नै सर्वथा गलत रहेको उनको दाबी छ ।

‘त्यो सर्वथा बेठीक हुन्छ । किनभने सत्तारुढ गठबन्धनमा बसेर, उपेन्द्र यादवजीले पनि सत्ता पक्षलाई समर्थन गर्नुभएको छ । सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गर्नुभएको छैन । अझ लोसपाको त एकजना मन्त्री नै हुनुहुन्छ । शरदसिंह भण्डारी, उहाँले श्रम मन्त्रीको रुपमा काम गरिराख्नु भएको छ । यस्तो बेलामा चाहीँ उहाँहरु यदि आफ्नै खुट्टामा उभिनु भएको छ, आफैं निर्णय गर्न स्वतन्त्र हुनुहुन्छ भने उहाँहरुले यस्तो निर्णय गर्नै नमिल्ने हो, नैतिक रुपमा पनि मिल्दैन । उहाँहरु भूमिहीन, सुकुमबासी जनताको विपक्षमा हुनुहुँदो रहेछ,’– उनले भने ।

साथै, भूमिसम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट स्विकृत गराउने सन्दर्भमा विभिन्न दलहरुसँग छलफल गरेर निकास खोजिने उनले बताए । वर्तमान सरकारले ल्याएको अध्यादेशरु राजनीतिक रुपमा कसैप्रति लक्षित नरहेको उनको भनाइ छ । अध्यादेशहरु विशुद्ध रुपमा जनताको दैनिक जनजीवन र सुशासनसँग सम्बन्धित रहेको उनले दाबी गरे । अध्यादेशहरुलाई राष्ट्रिय सभाबाट पनि पारित गराउनका लागि दलहरुको बीचमा छलफल चल्ने कुरालाई स्वभाविक मान्नुपर्ने उनले बताए । File Photo/RN