पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते


काठमाडौं, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा बेलुन पड्किएको थियो ।

बेलुन पड्किदा मेयर आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको बताइएको छ । घटनापछि उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

मन्त्री पौडेल र मेयर आचार्य दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।