काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले संघीय संसद्को दुवै सदनबाट भूमिसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत हुने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेश स्वीकृत गराउन सरकारलाई कुनै समस्या नरहेको बताएका हुन् । सरकारले ६० दिनभित्र अध्यादेश प्रतिनिधि सभाको दुवै सदनबाट पारित गराउने र प्रतिस्थापन विधेयकमार्फत त्यसमा रहेका कमीकमजोरीमाथि छलफल हुने उनले बताए । ‘सबै अध्यादेश पारित हुन्छ । प्रतिनिधि सभामा यो विषय नै होईन, राष्ट्रिय सभामा पनि यो बहुमतले पारित हुन्छ,’– उनले भने ।
साथै, सरकारले संवैधानिक अधिकार प्रयोग गरेर नै अध्यादेश ल्याएको उनको दाबी छ । अध्यादेशले लोकतन्त्रमाथि प्रहार हुन्न भनेर विश्वास गर्न नसकिने उनले बताए । उनले यस्तो भाष्य बनाउने नेताहरुलाई ठगको संज्ञा दिए । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई राष्ट्रिय ठगको संज्ञा दिए । उनीहरुले ल्याउँदा ठीक र प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउँदा बेठीक भन्ने हुनै नसक्ने बताए ।
नेता थापाले आजका यावत राष्ट्रिय समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताए । ‘यो सत्ता गठबन्धनको स्वार्थको लागि ल्याइएको अध्यादेश होईन । उद्योग व्यवसायलाई लयमा फर्काउन, सूचना प्रविधिको क्षेत्रमा आज युवा व्यवसायीहरुले विदेशमा पनि व्यवसाय गर्न सक्ने हिसाबले, सहकारी समस्या समाधान गर्न, आजको राष्ट्रिय आवश्यकता पूरा गर्ने हिसाबले अध्यादेश ल्याइएको छ,’– उनले भने ।




प्रतिक्रिया