प्रचण्डकै कुकर्मका कारण युवाहरु विदेशिन बाध्य भए, गणतन्त्र ल्याएँ भनेर फुर्ती नगरे हुन्छः एमाले नेता थापा


काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मैले गणतन्त्र ल्याएको भनेर फुर्ती गर्नुको औचित्य नरहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजाले शासनसत्ता हातमा लिएको बेलामा आफूहरु मैदानमा उत्रिएको तर प्रचण्ड भने भारतको काखमा ज्वाईँ सत्कार खाएर बसेको टिप्पणी गरे । प्रचण्डले गणतन्त्र ल्याएको भनेर विश्वास गर्ने सकिने आधार नरहेको उनको दाबी छ । गणतन्त्र प्रचण्डले भन्ने गरेको थवाङ–चुन्वाङबाट घोषणा नभएको उनले बताए । प्रचण्डलाई शान्ति सम्झौताको एउटा पार्ट मान्न सकिएपनि उनको कारणले देशमा गणतनत्र आयो भनेर मान्न नसकिने नेता थापाको भनाइ छ ।

‘राजाले शासन लिँदा हामी काठमाडौंको सडकमा, नारायणहिटी वरिपरी, चक्रपथ वरिपरी, रत्नपार्क वरिपरी यहाँ लड्दाखेरी उहाँ कुन जंगलमा हुनुहुन्थ्यो ? विदेशीको काखमा हुनुहुन्थ्यो प्रचण्डजी । उहाँले फुर्ती गर्ने ? भारतको काखमा बसेर ज्वाईँ सत्कारमा बसेर अनि मैले गणतन्त्र ल्याएको हुँ भनेर फुर्ती गर्ने ? उहाँले ल्याएको गणतन्त्र थवाङ–चुन्वाङबाट घोषणा भएको हो ? त्यहाँ प्रचण्डको बहुमत थियो ?’ उनले भने ।

नेता थापाले प्रचण्डकको कुकर्मको कारण आज युवाहरु विदेशिनुपर्ने अवस्थामा पुगेको आरोप लगाए । प्रचण्डले बाल सेना र जनसेनाको नाममा युवाहरुलाई भर्ती गरेर मृत्युमार्गमा पुर्याउन खोजेपछि उनीहरु थातथलो छाडेर सहर र सहरबाट विदेशसम्म जान थालेको नेता थापाको आरोप छ । उनले भने ‘आज युवाहरु जतिपनि विदेशमा गएका छन्, त्यो प्रचण्डको कुकर्मको परिणाम हो । युवाहरुलाई गाउँबाट लखेटेर सहर र सहरबाट लखेटेर ज्यान जोगाउन विदेश पुर्याउने मान्छे को हो भन्दा प्रचण्ड हो । तपाईँले हेर्नुभएको छैन ? कहिलेदेखि युवाहरुले गाउँ, थातथलो छोड्न बाध्य भए ? बाल सेना र जनसेनामा भर्ती गरेर मृत्युमार्गमा लैजान बल प्रयोग गर्न थालेपछिको कुरा होईन यो ? आज युवा विदेश पलायन भए भनेर उहाँ रुवाबासी गरिरहनुहुन्छ । यस्तो रुवाबासीको के अर्थ छ ? यसको मुख्य कारण त उहाँ हो नि त,’– उनले भने ।

साथै, प्रचण्डलाई कसरी सत्ताको नजिक ल्याउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रोसँग ज्ञान रहेको पनि उनले बताए । प्रचण्डले एमालेसँग धेरै फुर्ती नगरेकै राम्रो हुने उनको सुझाव छ । ‘हरियो घाँस हालेपछि उहाँ (प्रचण्ड) म्याँ म्याँ गर्दै आइहाल्नुहुन्छ । धेरै फूर्तिफार्ती नगर्दा हुन्छ । प्रचण्डजी नचिनेको, नजानेको बराजु हुनुहुन्न क्या । उहाँलाई हरियो घाँस, कतिखेर म्याँ–म्याँ गराउनुपर्छ भन्ने केपी शर्मा ओलीलाई राम्रोसँग थाहा छ । धेरै फुर्तिफार्ती किन गर्नुपर्यो ?’ प्रश्न गर्दै उनले भने ।