केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरणबारे सरकारले कूटनीतिक तवरबाट काम गरिरहेको छः प्रधानमन्त्री ओली


काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएको बारेमा कूटनीतिक तवरबाट काम भइरहेको बताएका छन् । विश्वविद्यालयको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको थियो । सो घटनापछि विश्वविद्यालयले विद्यार्थीहरुलाई क्याम्पस छोड्न निर्देशन दिइसकेको छ ।

यसबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’ File Photo/RN