काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं पूर्वमन्त्री मेटमणि चौधरीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारणले कांग्रेस–एमालेसहितको गठबन्धन बनेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले ३२ सिटलाई म्याजिक नम्बर मानेर घमण्ड गर्दा दुर्घटना भएको बताएका हुन् । प्रचण्डले आफूसँग भएको सिटलाई म्याजिक नम्बर रहेको दाबीसहित कहिले कांग्रेसतिर र कहिले एमालेतिर गर्दा सत्ता केपी शर्मा ओल्किो पोल्टामा पुगेको उनको भनाइ छ ।
‘केपी शर्मा ओली प्रधानमन्त्री बन्नुमा म प्रचण्ड दोषी देख्छु । उहाँलाई धेरै ठूलो मात चढेको थियो । मसँग भएको ३२ सिट म्याजिक नम्बर हो, ५ वर्ष मै प्रधानमन्त्री हुन्छ । कांग्रेस–एमाले मिल्दैनन् । यिनीहरुलाई खेलाइ–खेलाइ आफू सेन्टरमा रहने कुरा र माधव नेपाललाई सत्ता किन हस्तान्तरण गर्ने ? फेरि आफैं हुने भन्ने कारणले उहाँ कहिले यता, कहिले उता, त्यो खालको भूमिका निर्वाह गरेपछि परिस्थिति यस्तो आयो कि ओलीको पोल्टामा गयो । उहाँ (प्रचण्ड) को कारणले यो दुर्घटना भयो,’– उनलले भने ।
साथै, उपमहासचिव चौधरीले ओली नेतृत्वको वर्तमान सरकार पनि फर्सीजस्तै भित्रभित्रै गलिसकेको टिप्पणी गरे । पछिल्लो समय प्रधानमन्त्री ओलीको छट्पटी, चिटचिटाहटपन र अराजक प्रस्तुतिले त्यही संकेत गरिसकेको उनको दाबी छ । प्रधानमन्त्री ओलीको व्यवहार मान्छेलाई डिमोरालाइज गर्ने प्रकारको रहेको उनले बताए । संसद्मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सोधेको प्रश्नमा उत्तर नदिनु र संसद्को अपमान गर्नुले पनि उनी कमजोर भइसकेको संकेत गर्ने उनको भनाइ छ ।
‘कमिलाको प्वाँख पलाएजस्तै सरकार ढल्ने बेलामा ओलीले ठूल्ठूला कुरा गरेको भन्ने मेरा आफ्नो बुझाइ छ । उहाँको प्रस्तुति त्यस्तो देखिन्छ । जब मान्छेहरुमा कन्फिडेन्स हराउँदै जान्छ, उसमा चिटचिटाहटपन, प्रस्तुति अराजक तरिकाको, अरुलाई डोमिनेट गर्ने खालको हुन्छ । यी सबै खालका प्रस्तुतिहरुले सरकार धेरै कमजोर भइसकेको छ । रुपमा राम्रो, सग्लो, ठूलो देखिएको छ । तर, भित्रभित्रै फर्सीजस्तै गलिसकेको छ । मान्छे कमजोर भएपछि मान्छे बरबराउँछ । अहिले भएको त्यही हो,’– उनले भने ।




प्रतिक्रिया