काठमाडौं, ७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफूलाई हटाउन भइरहेको चलखेललाई कुनै अन्यथा मान्न नहुने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेश सभामा रहेका १०७ जना नै सांसदहरुमा मुख्यमन्त्री बन्ने चाहना हुनसक्ने र त्यसका लागि उनीहरुले चलखेल गर्नुलाई स्वभाविक मान्नुपर्ने बताएका हुन् । मुख्यमन्त्री सिंहले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको आशा, भरोसा र विश्वास रहेको बताए ।
‘उहाँहरुको साथ नभएको भए म एक मिनेट पनि टिक्न सक्दैन थिएँ । सम्माननीय प्रधानमन्त्रीजीको, सम्माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीको, डा. सिके राउतजीको यी तीन जनाले नचाहेभने म एक मिनेट पनि टिक्न सक्दिनँ । तीनै जनाको ममाथि विश्वास, आशा र सपोर्ट छ,’– उनले भने ।
साथै, आफूलाई काम गर्नका लागि कतैबाट दवाब वा रोकटोक नरहेको उनले बताए । आफू निरन्तर काममा खटिइरहेको पनि मुख्यमन्त्री सिंहले बताए । प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री देउवा वा जनमतका अध्यक्ष राउतले भनेको खण्डमा आफू सरकार छाड्न तयार रहेको पनि उनले बताए । ‘कसैले भनेर म छोड्ने होइन । यहाँ गठबन्धन छ,गठबन्धनले अब तपाईँको काम सकियो, अर्कोको पालो आयो भन्नुपर्यो । कि हाम्रा डाक्टर साहेव (सिके राउत) ले भन्नुपर्यो । म रेडी छु,’– उनले भने ।
मधेश प्रदेशमा आफूहरुले तीब्र रुपमा काम गर्न चाहेपनि काम गर्नका लागि आधारभूत संरचनाको कमी रहेको उनले बताए । उनले आफूहरुले ८० देखि सयसम्मको स्पिडमा गाडी कुदाउन चाहेपनि बाटो ग्राबेलमात्रै रहेकाले गाडी ४०/५० को स्पिडमा मात्रै कुदिरहेको उनको टिप्पणी छ । ‘हामी गाडी ८० देखि सयको स्पिडमा कुदाउन खोजिरहेका छौं । तर, बाटो चाहीँ ग्राबेलको बाटो छ । ग्राबेलको बाटोमा ९०/१०० को स्पिड कसरी जान्छ ? त्यो त ४०/५० को स्पिडमा कुद्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया