राससले नयाँ प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताको निष्ठा कायम गर्ने विश्वास छ : सभामुख घिमिरे


काठमाडौँ, ७ फागुन । सभामुख देवराज घिमिरेले राष्ट्रिय समाचार समिति (रासस) ले आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताको निष्ठा कायम गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पत्रकार, कर्मचारी, व्यवस्थापन तथा सेवाग्राहीमा आज हार्दिक शुभकामना व्यक्त गर्दै राससले राज्यको आधिकारिक समाचार संस्था भएर सत्यतथ्य, विश्वसनीय र निष्पक्ष सूचना प्रवाह गरी जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको उल्लेख गरेका छन् । सभामुख घिमिरेले राससको वार्षिकोत्सवका अवसरमा संस्थालाई आजको दिनसम्म ल्याउन योगदान दिने स्थापनाकालदेखि आजसम्मका सबैको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

उनले भनेका छन्, “राससले पछिल्ला वर्षमा आफूलाई अद्यावधिक गर्दै डिजिटल प्रविधिलाई आत्मसात गरेको छ, समावेशितालाई प्रवर्द्धन गर्ने ध्येयले विभिन्न भाषामा समाचार प्रकाशन गर्ने, समसामयिक विषयमा लेखहरू तयार गर्दै एउटा समाचार एजेन्सीले दिने सबै खालका सामग्रीको उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ ।” सभामुख घिमिरेले आधुनिक समाचार एजेन्सीले कडा तथ्य जाँच मापदण्ड र नैतिक रिपोर्टिङ अभ्यासलाई कायम राख्दै गलत समाचार प्रवाहलाई निरुत्साहन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

“समाचार एजेन्सीले परम्परागत छापा र प्रसारणको सीमिततालाई पार गरिसकेको यथार्थ हामीसामू छ, आधुनिक पाठकले विभिन्न प्लेटफर्ममार्फत छिटो, सही र विविध जानकारी माग गरिरहेको सन्दर्भमा राससले आगामी यात्रा त्यसतर्फ केन्द्रित गर्न आवश्यक छ”, उनले भनेका छन् ।

नेपालको संविधानमा सुनिश्चित मौलिक हकको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, दिगो विकास र समावेशी समाज निर्माणमा सूचना तथा सञ्चारको भूमिका महत्वपूर्ण भएको उनको भनाइ छ । उनले राससले तथ्य जाँचमा आधारित निष्पक्ष रिपोर्टिङ, अन्तरराष्ट्रिय सहकार्य र स्थानीय मुद्दामा ध्यान केन्द्रित गर्दै नागरिकलाई सत्य समाचार प्रदान गर्न निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गरेका छन् ।