प्रकृति लम्सालको शव नेपाल ल्याईंदै, प्रेमी भनिएका श्रीवास्तवसहित ६ जना पक्राउ, तीन कर्मचारी निलम्बित

कलेजबाट निकालिएका १६ जना नेपाली विद्यार्थी नेपाल फर्किए


काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परीकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याईने भएको छ ।

उनको शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको र आज साँझसम्म शव रुपन्देहीमा ल्याउने तयारी भएको बताईएको छ ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । कलेज प्रशासनले पटक पटक माफी मागेको छ । नेपाली छात्रा मृत फेला परेपछि त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । यो विषय संसदमा पनि उठिसकेको छ । उता ओडिसाको विधानसभामा पनि यो विषयले प्रवेश पाएको छ । जसका कारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरिय समिति बनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार प्रकृतिका प्रेमी भनिएका अडविक श्रीवास्तवसहित ६ जना हाल प्रहरी नियन्त्रणमा छन् । श्रीवास्तवको यातना र टर्चर सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनका साथीहरुले आरोप लगाएका छन् । श्रीवास्तव हाल प्रहरीको न्यायीक हिरासतमा छन् ।

कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पक्राउ प्रकाउ परेको भारतीय मिडियाहरुले जनाएका छन् । त्यहाँ कार्यरत दुई जना चौकिगार्ड सेवाबाट बर्खास्त भईसकेका छन् भने तीन जना सेवाबाट निलम्बित भएका छन् ।

कलेजबाट निकालिएका १६ जना नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू नेपाल फर्किएका हुन् ।