कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा संविधान संशोधन गर्न माओवादी तयार छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले दुई दलीय व्यवस्था ल्याउनेगरी थ्रेसहोल्डको सीमा बढाउन खोजेको टिप्पणी गरेका छन् । माओवादी केन्द्र मैवाखोला गाउँपालिका कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्न ताप्लेजुङ आएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेस–एमालेको यस्तो कदम गलत रहेको बताए ।

साथै, संविधान संशोधनका लागि पनि सबै दलसँग परामर्श गरेर मात्र अगाडि बढ्नु उपयुक्त हुने सरकारलाई उनको सुझाव छ । जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ ध्यान दिनसमेत उनले वर्तमान सरकारलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सबै जाति, वर्ग र क्षेत्रको पक्षमा, थप जनमुखी साथै निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनेगरी संविधान संशोधन गर्न आफूहरु तयार रहेको बताए । File Photo/RN