‘केपी ओली कप फुटबल’ को तालिका सार्वजनिक, उद्घाटन खेलमा आहारारा विजेता ब्ल्याक बुल्ससँग एपीएफ भिड्ने


काठमाडौं । फागुन ११ गतेबाट सुरु हुने ‘केपी ओली कप फुटबल प्रतियोगीता’को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको खेलको आज तालिका सार्वजनिक भएको हो ।

नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ।

११ गतेबाट सुरु हुने प्रतियोगीताको उद्घाटन खेलमा आहा रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ।

फागुन १२ र १३ गते समान २ खेल हुनेछन्। फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बिच प्रतिष्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबिच खेल हुनेछ।

फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ। सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ।

सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।  यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।