देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता छः कमल थापा


काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् । आज (बिहीबार) राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

‘राजाको यतिमात्रै चाहना रहेको छ । देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ । राजाले फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन । राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु्,’– उनले भने ।

वर्तमान राजनीति नै भद्रगोल अवस्थामा पुगेको नेता थापाको भनाइ छ । यसैबीच पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको उनले बताए । पूर्वराजाको उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताए । देशको हित र भलो हुन्छ भनेर आफूले राजगद्धी र सुख सुविधा त्यागेको स्मरण गराउँदै पूर्वराजा ज्ञानेन्द्रले त्यो हुन नसकेको चिन्ता व्यक्त गरेको पनि उनले बताए । File Photo/RN